
आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात,जराहरूमा औषधीय गुण हुन्छ। यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ ।
आयुर्वेद कुनै पनि रोगबाट पूर्ण रूपमा छुटकारा पाउने कुरासँग सम्बन्धित छ र यसले समग्र स्वास्थ्यमा सुधार ल्याउन उपयुक्त जीवनशैली अपनाउन पनि सुझाव दिन्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यो प्राकृतिक जडिबुटीहरू र अन्य प्राकृतिक पदार्थहरूबाट बन्ने भएकाले यसको कुनै पनि साइड इफेक्ट हुँदैन ।
आयुर्वेदले तपाईंको रोगको कारणलाई ध्यान दिँदै त्यसको उपचारको लागि शरीरको प्रभावित भागको उपचारमा ध्यान दिन्छ । उपचारलाई प्रभावकारी बनाउन स्वस्थ जीवनशैली अपनाउनुपर्छ र खानामा नियन्त्रण गर्नुपर्छ ।
आफूलाई मन पर्ने खाना नखाने कुरा तपाईंलाई मन नपर्न सक्छ । यसलाई पालना गरेमा आयुर्वेदिक उपचारले छिटो र प्रभावकारी रूपमा रोग निर्मूल गर्नसक्छ । यसले तनमन दुवैलाई स्वस्थ बनाउँछ ।
आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। मंगलदायी प्रेरणाको मूलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ।
हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्। मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते।।
जुन शास्त्रमा हितायु, अहितायु, सुखायु, दुःखायु यी ४ प्रकारका आयु र आयुका लागि हित अर्थात पथ्य, अहित अर्थात अपथ्य, आयुको मान (प्रमाण र अप्रमाण) र आयुको स्वरुप बताइएको हुन्छ त्यसलाई आयुर्वेद भनिन्छ।
यतश्चायुष्याणी अनायुष्याणि च द्रव्य ! गुणकर्माणि वेदयति अतोअपि आयुर्वेद: !!
यस शास्त्रले आयुष्य (आयुको सुरक्षा र सम्वर्द्धन गर्ने) हित द्रव्य, गुण र कर्मका साथ अनायुष्य (आयुको ह्रास वा नाश गर्ने) अहित द्रव्य, गुण र कर्महरुको जानकारी दिन्छ, त्यसैले यसलाई आयुर्वेद भनिन्छ।
प्राचीनकालदेखि नै आयुर्वेद क्षेत्रसँग परिचित र त्यसका प्रयोगकर्ता ऋषिमुनिहरुको आश्रयस्थल नेपाल रहेको छ। आयुर्वेदीय चिकित्साअन्तर्गत प्रयोग हुने दैवव्यपाश्रय एवं युक्तिव्यपाश्राय औषधहरुको प्रयोगको परम्परा यहाँ आज पनि व्यापक रुपमा कायम रहेको पाइन्छ।
अतीतकालमा आयुर्वेद आप्तोपदेश तथा विद्वानहरुको चिन्तन एवं अनुभवको आधारमा विकसित हुँदै आएको हो। यसको प्रयोगात्मक परिपाटी निकै विस्तृत भए तापनि आजको वैज्ञानिक चिन्तन र प्रयोगको परिपाटीबाट त्यसको स्पष्ट रुपरेखा विद्वानहरुले प्रस्तुत गर्न नसक्दा, आयुर्वेद क्षेत्रको जुन रुपमा विकास र विस्तार हुनुपर्ने हो, त्यो हुन सकेको छैन।
आयुर्वेद चिकित्सालाई नेपालको राष्ट्रिय चिकित्साअनुरुप विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरुको सभामा संवाद, विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोधग्रन्थहरुको प्रकाशन तथा वितरणसँगै सामाजिक तथा संस्थागत प्रतिबद्धता सहित कार्ययोजना, आर्थिक व्यवस्थापन समेत चाहिन्छ। साथसाथै सरोकार सम्पूर्णले गुणस्तर, व्यावसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्य समेत बोक्नुपर्छ।
आयुर्वेद जीवनको ज्ञान हो र आयुर्वेदको उद्देश्य रोगको उपचार गर्नु मात्र नभई स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु पनि हो। नेपालमा वैज्ञानिक तवरबाट अध्ययन अध्यापन, सिप अभिवृद्धिको प्रशिक्षण हुने र विभिन्न विधामा विशेषज्ञ सेवा पनि उपलब्ध भएकाले तथा आयुर्वेदका औषधिहरु विभिन्न ट्राइल, रिसर्च, ल्याब्रोटरी इभ्यालुएसनसहित मानव जीवनको सुरक्षालाई ध्यानमा दिएर बनाइएको हुँदा, आयुर्वेदले रोगीको जीवनमा सकारात्मक भूमिका खेल्ने कुरामा दुईमत छैन।