
‘भोट बैंक राजनीति’ यो वाक्यांश सुन्नेबित्तिकै हजुरहरूको दिमागले के सोच्छ ? पक्कै नकारात्मक कुरा कै रुपमा यसलाई हरेकले चित्रण गर्दछ। तर जानीनजानी हामी सबैजना यसकै शिकार बन्दै त छैनौँ ?
भोट बैंक राजनीतिको एउटा पाटो जातीय, धार्मिक, लैंगिक आदि कार्ड फालेर तत् तत् मानिसको समूूूहको सेन्टिमेन्ट स्वरुप पाइने सामुहिक भोटको स्रोत हो भने यसको अर्को एउटा पृथक स्वरूप पनि छ जसलाई हामीले नजर अन्दाज गर्दै आएका छौं ।
त्यो पृथक स्वरूपको राजनीतिक भोट बैंक बनाउने अखडा हो: ‘राजनीतिक दलका अनावश्यक संगठनहरु’ अनि आवश्यक संगठनका पनि अनावश्यक हाँगाहरु । हो आज हामी त्यहि बारेमा चर्चा गर्दै छौँ ।
आजको दिनमा राजनीतिक पार्टिले अवस्था परिवेश अनुसारका आफ्नो मूल राजनीतिक संगठन बाहेकका पेशा-कर्म-जात आदिका नाममा संगठन निर्माण नगरेको सायद कुनै यस्तो एउटा क्षेत्र नै छैन । डाक्टर देखि कन्डक्टर सम्म टेम्पो व्यवसायी देखि किसानसम्म, विद्यार्थी देखि प्राध्यापकसम्म अनि किशोर देखि ज्येष्ठ नागरिकसम्म अनि विभिन्न जातजातिका नाममा भाषाभाषीका नाममा धर्मका समेत नाममा हरेक क्षेत्रमा पेशागत, क्षेत्रगत, जातिगत या अन्य विभिन्न आवरुमा खोलिएका राजनीतिक पार्टिका भ्रातृ तथा भगिनी संगठनहरु छन् । यी संगठनहरुको वास्तविक औचित्यको कुरो उठाउँदा हकहित सम्बर्धन , अधिकार स्थापना , बेथिति अन्त्य गर्ने लक्ष्य लगायतका दुहाई राजनीतिक पार्टिहरुले दिन सक्लान् इतिहासमा पनि यस्ता संगठनले विभिन्न उपलब्धी हाँसिल गर्न सघाए भन्ने तर्क नि गर्न सक्लान् । तर के यिनले बाहिर भनिए अनुरुपको काम वास्तव मै गर्छन् त ?? या यस्ता राजनीतिक आवरूका अनावश्यक संगठनहरुको कुनै सुषुप्त निश्चित ध्येय हुन्छ ??
डाक्टरलाई , ड्राइभरलाई , कर्मचारीलाई ,किसानलाई , विद्यार्थीलाई राजनीतिक आबद्धता भएको संगठन आफ्नो पेशागत क्षेत्रमा कसरी उपयोगी हुन्छ ?? जस्तै : विद्यार्थी कोहि अन्यायमा परे सबै विद्यार्थी आफै भेला भएर आवाज उठाउन सक्छन् या गैर राजनीतिक संगठनको अभ्यास गरि त्यो मार्फत आवाज उठाउन सक्छन् । कसैमाथि पनि भएको अन्यायको कुनै राजनीतिक आबद्धता नहेरी प्रत्येक राजनीतिक शक्तिले त्यसको बारे आवाज बुलन्द पार्न पर्छ । के यसको लागि राजनीतिक भ्रातृ संगठन नै चाहिन्छ र ?? अहँ चाहिँदैन । यहि कुरो अन्य विभिन्न पेशागत संगठनका कुरामा पनि लागू हुन्छ । यस्ता संगठनहरुले माथि उल्लिखित र अन्य पेशागत धर्ममा राजनीतिको कुटिलता मिसाई फोहोर फैलाउने बाहेक केही काम गरेका छन् त ? नेपालमा विकासका बाधक मध्येका एक पक्ष यी संगठन पनि होइनन् भन्न कसरी सकिन्छ ? जबकी जसको नेतृत्वले पेशा धर्म निर्वाह गर्ने भन्दा पनि राजनीतिक गठजोडमा रमाउने र अगाडि मीठो बोलेर भित्र भित्रै राजनीतिक गन्दगी फैलाउने गरेको हरकहीँ देख्न सकिन्छ । अनि विभिन्न बहानामा खोलिएका यी र यस्ता भ्रातृ संगठनको एउटै मात्र उद्देश्य हो आफ्नो वरिपरिकाहरुको राजनीतिक पहुँचमा भरमा गर्न सकिने स्वार्थ पूर्ति र ‘भोट बैंक निर्माण’ यस्तो भोट बैंक जुन लगभग चीर स्थायी हुन्छ र सत्तासीनहरुलाई बारम्बर त्यहि कुर्सीको निकट लगेर छोडिदिन्छ । जसले लेबि नतिर्ने तर स्वयम् कार्यकर्ता जत्तिकै कट्टर भोटरहरुको जमात तयार पारिदिन्छ । यस्ता सुषुप्त कार्यकर्ताहरुले सत्ताको, सरकारको, पार्टिको कार्य प्रतिको असन्तुष्टिका बावजुद पनि त्यो असन्तुष्टिलाई मत मार्फत प्रकट गर्न सक्दैनन् र बारम्बार एकैलाई भोट दिन पुग्छन् !! कारण ?? उसले त्यो अमुक पार्टिसँग नाम जोडिएको भ्रातृ संगठनमा लागे पछि नै बिस्तारै बिस्तारै विपरीत विचारसँग भने दुष्मनी बनाईसकेको हुन्छ जसले उसलाई भोट परिवर्तन गर्नबाट रोक्छ ।
यसरी बिस्तारै बिस्तारै सुषुप्त कार्यकर्ताहरु निर्माण गर्दै गइन्छ अनि हालको नेपाल झैँ सम्पूर्ण राष्ट्र नै सुषुप्त कार्यकर्तामय बन्न पुग्छ जसको मानसिकता नै यस्तो भै सकेको हुन्छ कि उसले जिन्दगी भर एकै पार्टीको नाममा एकै नेताको नाममा भोट हाल्ने मनस्थिति बनाईसकेको हुन्छ अनि जब असन्तुष्टिको बावजुद पनि मत परिवर्तन गर्न अधिकांश जनता असक्षम रहन्छन् तब बारम्बार एकै समूह या व्यक्ती सत्तामा घुमिरहन्छन् । अब भन्नुहोस् । यस्तो अवस्था भए पछि राजतन्त्र र कथित प्रजातान्त्रिक व्यवस्थामा के फरक भयो र ? देशको राजनीतिक कार्यपद्धतिले सन्तुष्ट छौँ भने त एकैलाई बारम्बार भोट दिँदा ठिकै छ तर असन्तुष्टि छ भने त मत फेर्न पर्यो !!
जब काम गर्न नसक्ने नेतृत्वको विरुद्धमा मत दिइन्छ तब त देश बदलिन्छ !!
सचेत नागरिक भएको परिचय दिऔँ भोट बैँक हुनबाट बचौँ ।