
केहि दिन अघि स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको हटस्पट बन्न सक्ने खतरालाई मध्यनजर गर्दै शैक्षिक संस्था महिना दिन बन्द गरि वैकल्पिक माध्यमबाट अध्ययन-अध्यापन गराउन सिफारीस गर्यो । शैक्षिक संस्था सम्बन्धी निर्णय भएकाले सो निर्णयमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको अपनत्व आवश्यक थियो । तर शिक्षा मन्त्रालयले सो निर्णयमा अपनत्व लिन मानेन बरु सरोकारवालाहरुसँग छलफलमा जुट्यो । लगत्तै प्याब्सनले विद्यालय बन्द गर्ने सिफारीस प्रति आपत्ति जनाउँदै विज्ञप्ति निकाल्यो र संस्था बन्द गर्न नहुने अडान शिक्षा मन्त्रालयसंग राख्यो । सोही अनुरुप शिक्षा मन्त्रालयले विद्यालय तत्काल बन्द नगर्ने निर्णय गर्यो । विद्यालय बन्द गराउन नसके पछि स्वास्थ्य मन्त्रालयले १४ अति प्रभावित जिल्लामा विद्यालय नजान अपिल जारी गर्यो । योसँगै आम विद्यार्थी भने अलमलमा परेका छन् । विद्यालय जाऔँ भने कोरोनाको त्रास नजाऔँ भने पढाइ बिग्रने चिन्ता ! विद्यार्थी माझ रहेको यो अलमल चिर्न र परिस्थितिलाई निकास दिन पनि सरकारले ठोस निर्णय लिनु आवश्यक देखि सकिएको छ ।