
शुक्रवार, १३ मंसिर २०७६ काठमाडौँ,
(राष्ट्रिय समाचार समिति)
१३ औँ दक्षिण एसियाली खेलकुदको सम्पूर्ण तयारी लगभग पूरा भएको छ । सो तयारी स्वरुप उद्घाटन सत्रमा प्रस्तुत हुने विभिन्न झाँकीको तयारी प्रदर्शन शुक्रबार दशरथ रङ्गशालमा भयो ।
राससका अनुसार तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेर्हौं दक्षिण एशियाली खेलकुद (साग) तयारीका लागि नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिँगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ ।
आइतबार औपचारिक रूपमा सागको उद्घाटन हुनेछ । रङ्गशालामा अहिले दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन् । रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ । खेलकुदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ । सागका लागि काठमाडाँैमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढी रहेको छ ।
तेस्रोपटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रङ्गशालामा बाँकी रहेका केही काम आज रातिसम्म सम्पन्न गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “अब रङ्गशाला परिसर र खेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि आज रातिसम्म पूरा हुनेछ ।”