त्यो रात म पनि घर पुगे। त्यो रात पनि म घर पुगे। फरक छ नि है?छैन?कम्तिमा शब्दको स्थिती त फरक छ।प्रश्न उस्तै उस्तै देखिन जरुर सक्छ तर प्रश्नको रुप फरक छ। पुर्णविराम जस्ता प्रश्नवाचकहरुको थुप्रोमा उभिएकी छु म।आज पनि जब हेर्छु आफुलाइ ऎनामा देख्छु मात्र प्रश्नवाचकको थुप्रो।तर देख्दिन कतै आफ्नो अनुहार।यस्तो लाग्छ हरेकपटक समय मलाइ प्रश्नवाचक नै प्रश्नवाचक सुम्पिएर बग्ने गर्छ। साएद त्यो रातको प्रश्नवाचक मलाइ समयले नै सुम्पिएर बगेको हो।हावा चलिरहेको थियो त्यो साझ।अरु साझमा हावा नचल्ने भने होइन।
तर म यहाँ त्यो साझको त्यो हावालाइ सोचिरहेकी छु जुन चलिरहेको थियो मात्र त्यो साझमा। हावाको चाल?हावाको पैताला नै कहाँ हुन्छ र? भएपनी अदृश्य हुदो हो नत्र त देख्नु पर्ने हो मैले हावाको पैताला र थाहा हुनु पर्ने हो मलाइ हावाको चाल।हावाले रुखका केही पातहरुलाइ बिउझ्यायो,केही पातहरुलाइ बिउझाएर नचायो,अनि केही पातहरुलाइ नचाएर भुइसम्म बगायो।
बग्न त म पनि चाहान्थे छिटोभन्दा छिटो घरसम्म तर चारैतिर मात्र समय बगिरहेको थियो।बाटोमा अरु पनि दृश्यहरु बगिरहेका थिए।ती दृश्यहरुलाइ फगत यहाँ किन बिम्बमा सजाएर सुन्दर बनाउ?ती दृश्यहरु मलाइ त्यति धेरै सुन्दर लागेनेन जति लाग्न सक्थे ।साएद यो कारणले होला कि ती दृश्यहरुले मलाइ त्यति धेरै छोएनन जति छुन सक्थे।
समयले साझबाट रातको रुप लिनु अघि नै घर पुग्नु थियो मलाइ।हतारमा थिए म।होइन होइन हतारमा साझ थियो।म त साझको हतारोमा सरिक हुँदै आफ्नो पाइला हतार हतार चाल्दै मात्र थिए।
म कुनै लेखकको पात्र भएको भए मलाइ लाग्न सक्थ्यो होला अचानक।तर मलाइ बिस्तारै लाग्यो।म समयलाइ उछिन्न खोज्दै लमक लमक हिडिरहेकी थिए।मलाइ बिस्तारै मेरो ढाडमा केही टासिए जस्तो लाग्यो।अचानक लाग्नु र बिस्तारै लाग्नुमा फरक हुदो रहेछ।जस्तै अचानक केही कुरा लाग्यो भने अचानक सोचिदो रहेछ तर त्यही कुरा बिस्तारै लाग्यो भने बिस्तारै सोचिदो रहेछ अझ भनौ नसोचिदो पनि रहेछ।मलाइ ढाडमा केही टासिए जस्तो लाग्यो तर फर्किएर हेरिन ।किन? थाहा छैन किन फर्किएर हेरिन मैले?जे होस त्यो साझ त्यती बेलाको कुरा मात्र यति हो मैले फर्किएर हेरिन। केही क्षणपछि उहरु मेरो अगाडि आए ।उहरु चाहिँ बिस्तारै होइन अचानक नै आए।साएद कुनै लेखकको पात्र पो थिए कि? उहरु मेरो अगाडि ठिङ्ग उभिए। केही समय अघि मेरो ढाडमा टासिएका उहरुका आखाहरु अनि मेरो आखामा टासिए ।
उहरुको सहि सम्बोधन उनिहरु हो।तर मैले उहरुले नै सम्बोधनको सम्बन्धलाई बाध्न चाहे। किन?साएद यो सम्बोधनले मलाइ छोएको हुनुपर्छ केहि मात्रमा। मैले हेरे सबैलाइ अपरिचित नजरले ।उहरु सबै अपरिचित अपरिचीत लागे मलाइ।तर के साच्चै ती उहरु अपरिचित थिए? फेरि पनि अल्झिएको थिए म ।फेरि पनि अल्झिएका थिए मेरा महरु ।म अल्झिए।तर समय अल्झिएन।
आखिरमा साझले रातको रुप लिएरै छोड्यो ।मैले भने अरु कुनै रुप लिन सकिन नियमित उल्झनको रुप बाहेक। अचानक उहरु कहाँ गए? उहरु थिए कहाँ र? हावामा केही त बगिरहेको थियो।हावाले केही त बगाइरहेको थियो।मलाइ कति पनि बगाउन नसक्ने हावाले मेरो सोचलाइ कसरी बगाउन सकेको होला?के उहरु मेरो सोच थिए?होइन उहरु मेरो सोच पनि थिए।
कुराहरुलाइ यताउता बगाउनुभन्दा पनि अब त किनार तिरै आउदा ठिक होला।यति बेला किनारमा एउटा प्रश्न टुक्रुक्क बसिरहेको छ। आखिर त्यो साझको प्रश्नवाचक के थियो? हेर्दा हेर्दै ,सोच्दा सोच्दै,हिड्दा हिड्दै साझ रात बन्यो। म रात बोकेर हतार हतार हिड्न थाले। अनि त्यो रात पनि म घर पुगे। त्यो रात पनि म घर पुगे?






