बाल दिवसकाे अवसरमा दमकमा बाल कला उत्सवकाे आयाेजना गरिएकाे छ। दमक नगरपालिका र नगर बाल सञ्जाल दमकको संयुक्त आयाेजनामा विविध बालप्रतियोगिता समेटी बाल कला उत्सवको आयोजना गरिएकाे हाे । कारितास नेपालको सहकार्यमा भएकाे कार्यक्रममा बाल चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफ, कथा र कविता प्रतियोगिताहरु समेटिएको बाल कला उत्सव सञ्चालन गरिएकाे नगर बाल सञ्जालका सचिव राम प्रसाद खतिवडाले जानकारी दिए । कोभिड १९ का कारण बालबालिका घरभित्र भएको साथै बाल कलासँग सम्बन्धीत कार्यहरु नभएको अवस्थामा बाल दिवसलाई अवसर बनाई बालबालिकालाई आफ्नो कला प्रस्तुत गराउन एवं हौसला प्रदान गर्दै उनीहरुको क्षमता विकासको लक्ष्य लिई उक्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


कोभिड १९ कै महामारीलाई ध्यानमा राखी प्रतियोगिता दुई चरणमा बाँडिएको थियो । जस अन्तर्गत सुरुमा गुगल फारम भरी आफ्नो सहभागीता सुनिश्चित गर्नु पर्दथ्यो र उनीहरुले आफ्नो कलाको भिडियो तथा फोटो खिचि भदाै २२ सम्म पठाउनु पर्ने थियो । उक्त पहिलो चरणबाट निश्चित प्रतियोगी छनोट गरी उनीहरुको भने भौतिक उपस्थितिमा पुनःप्रतियोगिता गराइएको थियो । भदाै २५ गते कथा र कविता, भदाै २६ गते वक्तृत्वकला र चित्रकला र भदाै २७ मा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।
राष्ट्रिय बाल दिवसका अवसरमा भाद्र २९ गते दमक नगरपालिकामा औपचारिक समापन समारोह सञ्चालन गरी पुरस्कार वितरण लगायत कार्यक्रम गरिने सचिव खतिवडाले जानकारी दिए । ‘सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइँदैछ ।
नगर बाल सञ्जाल दमकले यसअघि अघिल्लो वर्षको बाल दिवसमा दमकका बालमैत्रीसँग सम्बन्धित सबै सरोकारवालाको सहभागीतामा अनलाईन मार्फत ‘बालमैत्री संवाद’ र विभिन्न प्रतिष्ठित व्यक्तिको बाल्यकालका अनुभव सुन्ने ‘बालानुभव वार्तालाप’ सञ्चालन गरेको थियो । त्यस्तै बालिका दिवसका अवसरमा एकपटक वैकल्पिक स्याहारमा रहेका बालबालिकासँग दशैं साथै भर्चुअल विधिबाट ‘प्रदेश बालिका सम्मेलन २०७७’ सञ्चालन गरेको थियो । साथै बालिका शिक्षा, महिनावारी शिक्षा, बालअधिकारसम्बन्धी अन्तरक्रिया, बालबालिकासँग उपमेयर जस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।







